Buddhist Flag
Tamang Buddhist Federation Nepal

आज मंसीर ७ गते तद् अनुसार नोभेम्बर २२ शुक्रबारको दिन ल्हाबाब दुछेन (भगवान बुद्धको त्रायत्रिंस देवलोकबाट यस धरतीमा पुन: अवतरण दिवस) परेको छ ।

Tamang Buddhist Federation Nepal   |   November 22, 2024

आज मंसीर ७ गते तद् अनुसार नोभेम्बर २२ शुक्रबारको दिन ल्हाबाब दुछेन (भगवान बुद्धको त्रायत्रिंस देवलोकबाट यस धरतीमा पुन: अवतरण दिवस) परेको छ ।

आज मंसीर ७ गते तद् अनुसार नोभेम्बर २२ शुक्रबारको दिन ल्हाबाब दुछेन (भगवान बुद्धको त्रायत्रिंस देवलोकबाट यस धरतीमा पुन: अवतरण दिवस) परेको छ । यो हिमाली बौद्धमार्गीहरूको चारवटा ठूला चाडहरू मध्येको एउटा हो । ती चारवटा ठूला चाडहरू निम्नलिखित हुन्:

(१) छोटुल दुछेन (ऋद्धि प्रतिहार्य प्रदर्शन दिवस),

(२) सागा दावा दुछेन (भगवान बुद्धको जन्म, सम्यक् सम्बोधि लाभ र महा परिनिर्वाण),

(३) छोखोर दुछेन (धर्मचक्र प्रवर्तन दिवस) र

(४) ल्हाबाव दुछेन (भगवान बुद्ध देवलोकबाट यस धर्तीमा पुनर् अवतरण दिवस) हुन ।

एउटा वर्षमा चार पटक आउने यो दिन विशेष भएकोले यो दिन कुशल कर्म गरे पनि अकुशल कर्म गरे पनि (अर्थात् धर्म गरे पनि पाप गरे पनि) त्यो एक करोड गुणाले वृद्धि हुने विश्वास भएकोले विशेष गरेर यो चारवटा दिवसको दिन अकुशल कर्मबाट टाढा नै रहनु पर्छ । सकेसम्म धेरै कुशल कर्म गर्नु पर्छ ।

धुम्रपान गर्ने, मदिरापान गर्ने, लागू पदार्थ (ड्रग्स सेवन गर्ने), प्राणी हत्या गर्ने, ढाँटने, चोर्ने, अरूलाई दुख दिने जस्तो अकुशल कर्म गर्नेहरूले कम्ती मा पनि यो विशेष दिनमा त्यस्तो काम नगरौ ।

यी चारवटा महान दिवसहरूमा बौद्ध र स्वयम्भू महा चैत्यमा भक्तजनहरूले दिनभरी र रातभरी पनि परिक्रमा गर्ने गर्छन् । स्तूप परिक्रमा (कोर्वा) गर्नेहरूलाई पानी सर्वतको व्यवस्था गरौ । यस बाहेक अरू धेरै प्रकारले पुण्य कर्म गरिन्छ ।

बौद्धमार्गीहरूको यी चारवटा महान् चाडहरू मध्ये बुद्ध जयन्तीलाई मात्र हामीले सम्झने गर्छौ । बाँकी तीनवटा ठूला चाडहरूबारे हामीलाई प्रायजसो थाहा छैन । यी महान् चाडहरू ओझेलमा परेका छन् । बुद्ध जन्मेको देशमा बुद्धसँग सम्बन्धित ठूला चाडहरू ओझेलमा पर्नु र राज्यले पनि बेवास्ता गर्नु विडम्बनाको कुरा हो । चारवटा मुख्य चाडहरू राज्य स्तरमा मनाउनु पर्छ भनेर वर्षौ देखि माग गर्दै आएको छु । एक वर्षमा ४ दिन भगवान बुद्धसँग सम्बन्धित महान दिवसहरूको दिन राज्यले सार्वजनिक बिदा घोषणा गर्नु पर्छ ।

छोटुल दुछेन हिमाली बौद्धधर्मको पात्रो बमोजिमको पहिलो महिनाको पन्ध्रौ दिनमा मनाइन्छ । हिमाली क्षेत्रमा प्रचलनमा रहेको ग्याल्पो लोसार भगवान बुद्धले लगातार १५ दिनसम्म ऋद्धि प्रतिहार्य प्रदर्शन गर्न सुरु गर्नु भएको भएको पहिलो दिनलाई स्मरण गर्दै मनाउन सुरु गरेको पाइन्छ ।

सागादावा दुछेन हिमाली पात्रो बमोजिमको चौथो महिनाको पन्ध्रौ दिनमा मनाइन्छ ।

छोखोर दुछेन हिमाली पात्रो बमोजिमको छैठौँ महिनाको चौथो दिन मनाइन्छ ।

ल्हाबाब दुछेन हिमाली पात्रो बमोजिमको नवौ महिनाको बाइसौं दिनमा मनाइन्छ ।

चन्द्र पात्रोमा आधारित भएकोले यसलाई ग्रेगोरियन वा बिक्रम सम्बतमा परिवर्तन गर्दा सबै वर्षमा उही महिनाको उही गते वा तारिकमा पर्दैन ।

भगवान बुद्ध देवलोकमा किन जानुभयो ?

हामी सबैलाई थाहा छ भगवान बुद्धलाई जन्म दिएको एक हप्ता पछि उहाँकी आमा महामायाको देहान्त भएको थियो । त्यसपछि उहाँले तेतीस कोटी देवलोकमा जन्म लिनु भएको थियो । देवलोकमा जन्म लिनुको अर्थ मोक्ष प्राप्त गर्नु होइन किनभने देवलोक पनि संसारको छ वटा लोकहरू मध्येको तीनवटा उच्च लोकहरूमा पर्छ । भगवान बुद्ध आफ्नी आमालाई देवलोकबाट मोक्ष दिलाउनको लागि देवलोकमा जानु भएको थियो । त्यहाँ गएर उहाँले आनन्द नामक देव उद्यानमा महामाया लगायत ब्रह्मा, इन्द्र (शक्र) अनेकौँ देवहरूलाई उपदेश दिनु भएको थियो । त्यसपछि महामायाको जन्म देवलोक भन्दा माथिको बुद्धक्षेत्रमा भएको थियो ।

यता धर्तीमा भगवान बुद्ध उपस्थित नहुनु भएको जानेर सोधी खोजी हुँदा उहाँ देवलोकमा जानुभएको कुरा थाहा भए पछि यस धर्तीका मानिसहरू कतै भगवान बुद्ध सदाको लागि देवलोकमा बस्नु भएर धर्तीमा कहिले पनि फर्केर नआउनुहोला भनेर उहाँका अनुयायीहरूलाई चिन्ता भयो । तसैले यहाँका केही चेलाहरू भगवान बुद्धलाई यस धर्तीमा फर्काएर ल्याउन भनि देवलोकमा गए । देवलोकमा पुगेर भगवान बुद्धलाई अनुनय विनय गरेर यस धर्ती फर्केर आउन मनाउन सफल भए ।

त्यसपछि भगवान बुद्ध यस धर्तीमा फर्केर आउनुभयो । यो उहाँको यस धर्तीमा दोस्रो पटको अवतरण थियो । पहिलो पटक उहाँ एउटा सेतो हात्तीको रूपमा महामायाको कोखमा प्रवेश गर्न भनेर तुषित देवलोकबाट यस धर्तीमा आगमन गर्नु भएको थियो । उहाँ त्यसबेला देवलोकमा ३ महिना रहनु भएको थियो ।

देवराजको आदेश बमोजिम विश्वकर्माले सात दिन भित्र तीन प्रकारको सिँढी निर्माण गर्नुभएको थियो जसको बीच भाग भगवान बुद्धको निम्ती नीलो वैदूर्य मणिको, दायाँ तर्फ ब्रम्हाको लागी सुनको सिँढी, बायाँ तर्फ इन्द्रको निम्ती चाँदीको सिँढी निर्माण गरिएको थियो ।

ब्रह्मा र देवताका राजा इन्द्रले भगवान बुद्धलाई किन छाता ओढाउनु भयो किन चमर हल्लाउनु भयो ?

भगवान बुद्धले समस्त प्राणीहरूको दुखलाई नष्ट गर्नको लागि जुन ज्ञान पाउनु भएको थियो त्यो देवता, मनुष्य, असुर, जनावर, भोको प्रेत र नरक छ वटै लोकको लागि दुर्लभ र कल्याणकारी थियो । यो कुरा जानेर नै देवताहरूले पनि भगवान बुद्धलाई आदर सत्कार गर्ने गर्थे उहाँको उपदेश सुन्ने गर्थे । यसैले यो पावन अवसरमा उहाँलाई छाता ओढाए चमल डोलाएर सम्मान पूर्वक विदाइ गरेका हुन ।

सात दिन पुगेपछि भगवान बुद्ध बीचको वैदूर्य मणिको सिँढीबाट, ब्रम्हा सुनको सिँढी बाट बुद्धलाई छत्र ओढाउनु हुँदै, इन्द्र चाँदीको सिँढीबाट बुद्धलाई ध्वजा पताका हल्लाउँदै बिस्तारै पाल्नुहुँदा देवगणहरूले अनेक पुष्प, धूप, दीप, चन्दनद्वारा पुज्नु भई आनेकानेकन सुगन्धित पुष्प वृष्टिका साथ बिदाइ गर्नुभएको थियो भने मनुष्यहरू भगवान बुद्ध यस धर्तीमा अवतरण गर्नु हुँदाको शुभ खुसीयालीमा राजा महाराजाहरू लगायत अनगिन्ती मानव सागरले विभिन्न बाजागाजा सु मधुर ध्वनीले भगवान बुद्धको भव्य स्वागत गर्नुभएको दिनलाई स्मरण गरी देव तथा मनुष्यहरूले एउटा भव्य स्तूप समेत निर्माण गर्नु भएको थियो । जसलाई देवलोक अवतरण स्तूप भनिन्छ ।

भगवान बुद्ध यस धर्तीमा पुन अवतरण गर्नु भएको स्थान हाल संकिशा हो । यो स्थान हाल उत्तर प्रदेश राज्यको फर्रूखाबाद जिल्लाको पखन रेलवे श्टेसनबाट ७ मिल टाढा काली नदीको किनारमा रहेको छ । यसको प्राचीन नाम संकाश्य हो । अलेक्जेन्डर कनिघमले आफ्नो पुस्तक ‘द एनसियन्ट जियोग्राफी अफ इन्डिया’ पुस्तकमा यस स्थानको बारेमा चर्चा गरेका छन् । यो भारतको लखनउ सहरबाट नजिक पर्छ । त्यहाँ अशोक स्तम्भ लगायत प्राचीन संरचनाहरूको भग्नावशेष अहिले पनि देख्न सकिन्छ ।

अनीश्वरवादी भनिएको भगवान बुद्ध देवलोकमा जानुभयो र ?

लोकको सृष्टिकर्ता ईश्वर र देवता बीचको भिन्नता थाहा नपाउँदा यो अन्योलता रहन जान्छ । बुद्धले संसारको सृष्टि ईश्वरले गरेको नभइ मानिस आफैले गरेको हो भन्ने कुरा बताउनु भएको छ । मानिसले जस्तो कर्म गर्छ त्यस्तै फल पाउँछ । अकुशल कर्म गर्नेहरूको जन्म संसारको छवटा लोकहरू मध्येको तीनवटा तल्ला लोकहरू अर्थात् जनावर लोक, भोको प्रेत लोक र नरक लोकमा हुन्छ भने कुशल कर्म गर्नेहरूको जन्म संसार निर्माण गर्ने छ वटा लोकहरू मध्येको तीनवटा उच्च लोकहरू मनुष्य लोक, देव लोक र असुर लोकमा हुन्छ । यस कारणले संसारको सृष्टि अरू कसैले होइन संसारको प्राणी आफैले आफ्नो कर्म अनुसारले गर्छ ।

ईश्वर र देवतामा फरक छ । महायान बौद्ध धर्ममा देवलोकको अस्तित्वलाई स्विकार गरिएको छ । देवलोक पनि विभिन्न स्तरहरूका छन् । (विस्तृत जानकारीको लागि ललितविस्तर सूत्र हेर्नुहोला ।)

बुद्ध स्वयम् पनि मायादेवीको कोखमा प्रवेश गर्नु भन्दा पहिला तुषिता नामको देवलोकमा हुनुहुन्थ्यो । कमलको फूल आफ्नो सुँडमा लिएको सेतो हात्ती आफ्नो कोखमा प्रवेश गरेको सपना मायादेवीले देखेको कुरा बौद्ध शास्त्रहरूमा लेखिएको छ । अहिले भविष्यको बुद्ध मैत्रेय बुद्ध पनि त्यही रहनु भएको बौद्ध शास्त्रहरूमा लेखिएको पाइन्छ ।

ल्हाबाब दुछेनको शुभकामना

(बुद्ध जन्मेको देस ल्हाबाब दुछेनमय नभए पनि बुद्धमा आस्था राख्नेहरूको फेसबुक ल्हाबाबदुछेनमय बनाउँ । सबैले सक्दो सेयर गरौ । अबको दस दिन सम्म लगातार यही पोष्ट आउँछ तर बुद्धको चित्र अलग अलग फे‍रिन्छ )

Mukesh Lama Lo

May be an illustration of temple

All reactions:

66

Categories: News

Tags:

Home Menu Search Contact