Tamang Buddhist Federation Nepal | December 24, 2025
बौद्ध धर्मको शिक्षा र ज्ञानलाई गाउँ–गाउँ तथा बस्ती–बस्तीमा पुर्याई सभ्य समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ तामाङ बौद्ध महासंघ नेपालद्वारा सञ्चालित तीन महिने निःशुल्क धर्म प्रशिक्षण शिविरको उद्घाटन कार्यक्रम मिति २०८२ साल पौष ८ गते सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त कार्यक्रम जुगल गाउँपालिका वडा नं. ६, विशिंखार टोलस्थित बज्र छ्योइलिङ गुम्बा, सिन्धुपाल्चोकमा आयोजना गरिएको थियो। उद्घाटन कार्यक्रम तामाङ बौद्ध महासंघ नेपालका संस्थापक अध्यक्ष श्रद्धेय धर्मगुरु खेन रिन्पोक्षे गेशे ङिमा तामाङ ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

उद्घाटन कार्यक्रमको सञ्चालन तामाङ बौद्ध महासंघ नेपालका महासचिव दिनेश कुमार तामाङ ज्यूले गर्नुभएको थियो।

कार्यक्रममा विशेष अतिथिका रूपमा जुगल गाउँपालिकाका उपाध्यक्ष हिमाल कुमार श्रेष्ठ, वडा अध्यक्ष टंक तामाङ, तामाङ घेदुङका केन्द्रीय सदस्य तथा पर्यटन व्यवसायी मिलन तामाङ, समाजसेवी प्रेम श्रेष्ठ लगायत पूर्व वडाध्यक्ष, पूर्व गाविस अध्यक्ष तथा समाजसेवी बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उक्त अवसरमा प्रमुख अतिथि श्रद्धेय धर्मगुरु खेन रिन्पोक्षे गेशे ङिमा तामाङ ज्यूले बौद्ध धर्मसम्बन्धी विशेष धर्म प्रवचन प्रदान गर्दै धर्म, नैतिकता र सदाचारको अभ्यासमार्फत समाज रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको थियो।
जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङबो विशेष कारणवश कार्यक्रममा उपस्थित हुन नसक्नुभए पनि तामाङ घेदुङका केन्द्रीय सदस्य तथा पर्यटन व्यवसायी मिलन तामाङमार्फत कार्यक्रमको सफलताको कामनासहित शुभकामना सन्देश पठाउनु भएको थियो।

यो तीन महिने निःशुल्क धर्म प्रशिक्षण शिविर आगामी तीन महिनासम्म सञ्चालन हुनेछ। शिविरमा प्रशिक्षार्थीहरूलाई प्रशिक्षण दिने प्रशिक्षकका रूपमा हरिहरपुरगढी गाउँपालिका वडा नं. १, चिसापानी, सिन्धुली निवासी विशाल घिसिङ तामाङ रहनु भएको छ।
















Categories: News
Tags:
March 27, 2026
March 24, 2026