Tamang Buddhist Federation Nepal | November 25, 2025
तीन महिने निःशुल्क धर्म प्रशिक्षण शिविर भव्य रूपमा सम्पन्न
सिन्धुली। तामाङ बौद्ध महासंघ नेपालद्वारा सञ्चालित तीन महिने निःशुल्क धर्म प्रशिक्षण शिविर सिन्धुली जिल्लाको हरिहरपुरगढी–१, चिसापानीस्थित टाशी छ्योइफेल गुम्बामा भव्य, शान्त र सभ्य वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको आयोजना तामाङ बौद्ध महासंघ नेपालले गरेको थियो भने सम्पूर्ण व्यवस्थापन तथा सहजीकरण टाशी छ्योइफेल गुम्बाले गरेको हो। गुम्बाका प्रमुख धर्मगुरु मान दोर्जे रुम्बा लामा यस शिविरका प्रमुख प्रायोजक तथा अभिभावकका रूपमा रहनुभयो।

समापन कार्यक्रममा उपासक–उपासिका तथा धर्मप्रेमी भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहँदा गुम्बा परिसर उल्लासमय वातावरणले भरिएको थियो।






कार्यक्रमका प्रमुख अतिथि तथा तामाङ बौद्ध महासंघ नेपालका संस्थापक अध्यक्ष श्रद्धेय धर्मगुरु खेन रिन्पोक्षे गेशे ङिमा तामाङ ज्यूले प्रशिक्षण सम्पन्न गरेका सहभागीहरूलाई वाङ् अभिषेक, धर्मदेशना, प्रमाणपत्र तथा परिचयपत्र वितरण गर्नुभयो। साथै, शिविरभर प्रशिक्षकको भूमिका निर्वाह गरेका धर्मगुरु विशाल घिसिङलाई उच्च मूल्याङ्कन गर्दै सम्मानपत्र प्रदान गरिएको थियो।

त्यस्तै, कार्यक्रमलाई भव्य र सुव्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएका गुम्बाका प्रमुख धर्मगुरु मान दोर्जे रुम्बा लामा प्रति पनि आयोजक संस्थाले विशेष सम्मान, आभार र प्रशंसा व्यक्त गरेको थियो।

कार्यक्रममा मन्तव्य राख्दै तामाङ बौद्ध महासंघ नेपालका महासचिव दिनेश कुमार तामाङले तामाङ समुदायले परापूर्वकालदेखि बौद्ध धर्म अंगाल्दै आए पनि वर्तमान समयमा नैतिक, आर्थिक तथा शैक्षिक सबलीकरण अपरिहार्य रहेको उल्लेख गर्नुभयो। महासंघ समाज रूपान्तरणको लक्ष्यसहित क्रियाशील रहेको बताउँदै उहाँले महासंघका आधिकारिक वेब तथा सामाजिक सञ्जालमार्फत नियमित जानकारी लिन र अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो।

महासचिव तामाङले देशभर संगठनका शाखा विस्तार गर्ने घोषणा गर्दै आगामी दिनमा संरचनागत सुदृढीकरणमार्फत प्रत्येक जिल्लामा महासंघका गतिविधि प्रभावकारी रूपमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, धादिङ जिल्लाको उत्तरी भेग रुबी भ्यालीमा करिब ९५ प्रतिशत तामाङ समुदाय रहे पनि झण्डै ८० प्रतिशत तामाङहरू क्रिश्चियन बनेको प्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस विषयमा समुदायस्तरमा सचेतना र ध्यानाकर्षण आवश्यक रहेको बताउनुभयो।




महासंघका आधिकारिक सूचना माध्यमहरू
Website: www.tamangbuddhist.org.np
YouTube: TBF Nepal
Facebook: तामाङ बौद्ध महासंघ नेपाल /
Facebook Page:Tamang Buddhist Federation Nepal
https://www.facebook.com/share/1ChfyaEs3h
TikTok: Tamang Buddhist Federation
Categories: News
Tags:
November 25, 2025
November 11, 2025