Tamang Buddhist Federation Nepal | November 19, 2025
तामाङ समुदायको मौलिक भाषा, लिपि र बौद्ध परम्परामा हस्तक्षेप भएको भन्दै तामाङ बौद्ध महासंघ नेपालले आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई ‘लिपि छाँटकाँट रोक्न’ मागसहित औपचारिक ज्ञापनपत्र बुझाएको हो
ज्ञापनपत्र महासंघका महासचिव दिनेश कुमार तामाङ र अध्यक्ष धर्मगुरु खेन रिन्पोक्षे गेशे ङिमा तामाङ ज्यूले मन्त्री पुनलाई संयुक्त रूपमा हस्तान्तरण गरेका हुन्।
महासंघले ज्ञापनपत्रमार्फत तामाङ समुदायले जन्मदेखि मृत्युपर्यन्तका सबै बौद्ध कर्मकाण्ड, धार्मिक शिक्षा, गुम्बामा अध्ययन अभ्यासमा निरन्तर प्रयोग गर्दै आएको सम्भोटा (तिब्बती) लिपिलाई मनपरी ढंगले छाँटकाँट, संशोधन वा रूपान्तरण गर्न थालिएको गतिविधिप्रति गम्भीर असन्तोष व्यक्त गरेको थियो।
ज्ञापनपत्रमा उल्लेख भएअनुसार सम्भोटा लिपि तामाङ समुदायको ऐतिहासिक, सांस्कृतिक, भाषिक र धार्मिक पहिचानसँग घनिष्ठरूपमा जोडिएको छ। संविधानले पनि प्रत्येक समुदायलाई आफ्नो भाषा, लिपि, कला, संस्कार र संस्कृति जोगाउने अधिकार सुनिश्चित गरेको अवस्थामा, लिपिको परिवर्तन वा नाम परिवर्तन जस्ता प्रयासले समुदायको पहिचान जोखिममा पर्ने तामाङ बौद्ध महासंघको धारणा रहेकाे छ।
नेपाल भाषाअभिकरणले ११ वटा लिपि सुचीकृत गर्ने क्रममा तामाङ समुदाय प्रयोग गर्दै आएको सम्भोटा (तिब्बती) लिपिलाई पनि आधिकारिक रूपमा सूचीकृत गरेको उल्लेख गर्दै महासघंले मन्त्री पुनसँग सम्भोटा लिपिको संरक्षण, प्रवर्द्धन र अध्ययन-अध्यापनलाई थप प्रभावकारी बनाउन सरकारी स्तरबाट आवश्यक कदम चाल्न अनुरोध गरेको छ।
ज्ञापनपत्र बुझ्दै मन्त्री पुनले यस विषयलाई गम्भीर रूपमा लिएर आवश्यक प्रक्रिया अघि बढाइने आश्वासन दिएको जनाएको छ।

Categories: News
Tags:
November 25, 2025
November 11, 2025