Tamang Buddhist Federation Nepal | September 11, 2024
कालो चरा (कथा)
कुनै जङ्गलमा एउटा सुगा बस्दो रहेछ । त्यसको हरियो भुत्ला र रातो चुच्चो (ठुड) तथा उसको आवाजको कारण हजारौं अन्य जातिका चराहरुको माझ उसको छुट्टै पहिचान रहेछ अन्य चराहरुको माझ उसको छुट्टै ईज्जत रहेछ । सबैले उसलाई सुगा ,सुगा भनेर बोलाउँदा रहेछ्न । ऊ गर्वले शिर ठाडो पारेर हिडदो रहेछ ।

तर एकदिन उसलाई कागले आफ्नो घरमा डाकेछ । मिठामिठा खानेकुरा ख्वाएछ । उसलाई राम्रो घरमा राखेछ । कागहरुले उसलाई आफुजस्तै बन्न फकाएछ्न । शरीरमा कालो दलेर आफुहरु जस्तै बने सधै स्वागत गर्ने र सधै मिठामिठा खाना दिने लालच देखाएछ । र ऊ लोभमा परि शरीरभरि कालो दलेर कागजस्तै बनेछ । अब ऊ कागको समुदायमा जाँदा स्वागत हुँदोरहेछ । परबाट हेर्दा उसको शरीर कालो रङ्गको कागजस्तै भएका कारण सबैले काग ठान्दा रहेछ्न , तर नजिकै जाँदा भने उसको चुच्चो ,खुट्टा र बोल्ने तरिकाले गर्दा सबै जनावरहरु उसलाई अचम्म मानेर हेर्दा रहेछ्न । एकदिन उसलाई कागको समुहको एकजनाले व्यंग्य गरेर “आफ्नो पहिचान गुमाएको अचम्मको जनावर” भनेर व्यंग्य गरेर अपहेलना गरेपछि पछुतो मान्दै आफ्नै समूहमा फर्केछ । आफ्नो समूहमा पनि सबैजनाको शरीर हरियो तर उसको मात्र कालो भएको कारण सबैले उसको खिल्ली उडाएछ्न । कागको संगतले आफ्नो भाषा र संस्कार पनि भुलेकाले आफ्नो समूहमा पनि मिल्न सकेनछ । त्यही अपमानका कारण उसले ऊ पागल जस्तो भएछ र एकदिन बनबिरालोले उसलाई आफ्नो सिकार बनाएछ ।

संसारमा सबैभन्दा ठूलो आफ्नो पहिचान ( Identity) हो । यसको ठूलो महत्त्व छ । संसारमा आफ्नो पहिचानको लागि मानिसहरू प्रयासरत देख्छौ । आफ्नो छुट्टै पहिचान र परिचयका लागि आफ्नो धर्मसंस्कृति , भाषा , भेषभूषा , गीतसंगित , लोकनृत्य जोगाएर त्यसलाई अझै विकास गर्दै लगेको हामी पाउँछौ । त्यही धर्मसंस्कृति , भाषा ,भेषभूषा,गीतसंगित, लोकनृत्य आदिलाई हेरेर नै त्यो मानिसको देश,जात,धर्म ,पूर्खा आदिको बारेमा थाहा पाईन्छ । संसारमा जुन जातिले आफ्नोपन जोगाएर राख्यो त्यो जाती नै सम्पन्न र सभ्य भएको हामी पाउँछौ । यो नै पहिचान हो । हाम्रो धर्मसंस्कृती, भाषा ,भेषभुषा , गीतसंगित र लोकनृत्यलाई हेरेर नै विश्वको अरबौ मानिस बिच हामी अरु भन्दा छुट्टै देखिन्छौ । यदि हामीले अरुको धर्मसंस्कृति अपनाइ हाम्रो मौलिकता छोडे विश्व सामु हाम्रो परिचय के दिने ? हामिले आफुलाई के भनेर चिनाउने ? हाम्रो प्रात:स्मरणीय पुर्खाको धरोहर बिर्सेर “धोबिको कुकुर ,न घरको न घाटको” हुनु कत्तिको उचित हो । विशेष गरि हाम्रो तामाङ दाजुभाइले सोच्नुपर्ने बेला आएको छ ।







सुनिल लो

Tamang Buddhist federation Nepal
Categories: News
Tags:
November 25, 2025
November 11, 2025